श्री महाइष्ट (मष्टो) कुलदेवता की जय ।

महाइष्ट कुलदेवताबारे केही जानकारी


खस आर्यहरुको कुलायन वा कुलदेवताको रुपमा पूजिने र अति शक्तिशाली मानिने देवता कुल, स्थान, परम्परा अनुसार मष्टोलाई विविध नामहरुले पुकारिन्छ । मुख्यतः मष्टोको स्वरुप बाह्र वा तेह्र भाईहरुको रुपमा रहेको मानिन्छ १. दुधेमष्टो (दुग्धहारी), २. लडेमष्टो (जटाधारी) ३. विशुद्ध र सत्वगुणी मष्टो ४. खपटे, दाह्रे मष्टो (बली खाने) गरि मष्टोलाई चार भागमा विभाजित गरिएको छ । भाईहरुमा १. बढ्मष्टो, २. कःमष्टो, ३. बाँ मष्टो, ४. थार्पा मष्टो, ५. बाबिरा मष्टो, ६. लिउडि मष्टो, ७. कामत मष्टो, ८. सिम मष्टो, ९. रमाल मष्टो १०. ढँडार मष्टो, ११. ढुसापानी मष्टो, १२. डढी सिमल मष्टो, १३. कुर्मी मष्टो । मतान्तरमाः– १. ढँडारे मष्टो जो आदि मष्टोको रुपमा पुजिन्छ वा जेठो भाइ मानिन्छ । २. खापड मष्टो, ३. क्षेत्रपाल ४. रुमाल ५. लरे ६. बाबिरो, ७. थापरे, ८. दाह्रे, ९. धौलपुरा, १०. काला, ११. टेढी, १२. लोखाडी आदि रहेका छन् । मष्टोको थानलाई प्रायः छानाले छाएको हुँदैन । मष्टोलाई माता दुर्गा भवानीको भाइ मानिन्छ । मष्टोको थान नगिचै प्रायः गरी भवानीको स्थापना गरिएको हुन्छ ।

बझाङ जिल्लाको ढँडार भन्ने ठाउँ यसको मूल थलो हो र यहाँबाट भाइहरु अन्यत्र गै बसेका हुन् भन्ने भनाई पनि छ । मुगु जिल्लाको थार्पा भन्ने ठाउँमा थार मष्टोको थान रहेको छ । मुगु जिल्लाको मष्टो–पोखरी पनि उल्लेखनिय छ । अर्को मत अनुसार पौराणिक कालमा दक्षप्रजापतिको यज्ञकुण्डमा सती देवीको प्राण त्यागेपछि अति क्रोधित भएर महादेवले दायाँ जटा पृथ्वीमा बजार्दा वीरभद्र सहित असंख्य शिवगणहरु तथा बायाँ जटा बजार्दा महाकाली सहित असंख्य योगिनीहरु उत्पन्न भए । ती गणहरुले दक्षको यज्ञ विध्वंस गरे एवं ब्रम्हा, इन्द्र आदि सम्पूर्ण देवताहरुलाई परास्त गरि दक्षको शिर काटेर सो ठाउँमा बोकाको उल्टो टाउको जोडी सम्पूर्ण गणहरु कैलाशमा महादेव सामू उपस्थित भए । भगवान शिवले खुशी भएर वरदान माग भन्दा वीरभद्र समेत केहीले भगवान शिवमा लीन हुने वरदान मागे । केही गणहरुले वायुरुपमा घुम्ने, नर–जिव्हा बोल्ने वरदान मागे, ती मध्येबाटै बढाल, थार्प, बिजुल, डाँडा, कवा, लाङ्डा, रातो ढँडार, दाह्रे, काल्सिला, म्हावै, बाविरा आदि बाह्र भाइ मष्टोको रुपमा अवतरित भए । धामीको नर–जिव्हा मार्फत् यिनले बोल्ने गर्दछन् र जग्गा जमिन, अंश, ज्यू ज्यान, चोरी, जारी आदि मुद्दा वा अपराधमा दूधको दूध पानीको पानी इन्साफ गरेर अपराधीलाई दण्ड दिन्छन्, यसरी गरीव, टुहुरा, अनाथ, विधवा आदिले न्याय पाउछन् । यही कारण हो खस आर्य समाजमा मष्टोको ठूलो प्रभाव छ । सबैभन्दा जेठा बुढाल मष्टा हुन् भन्ने भनाई पनि छ, यिनको मुख्य स्थान जुम्ला जिल्लाको बुडुमा छ । मष्टो रजोगुणी र सत्वगुणीको रुपमा पाईन्छन् । मष्टोको उत्पत्तिस्थल मानसरोवर कै वरपर हो भन्नाले मानसरोवरदेखि कर्णालीसम्मको क्षेत्र रहेछ भन्ने बुझिन्छ । एक मत अनुसार मष्टोको बाह्र भेद र चौरासी उपभेद रहेको पनि मानिन्छ । यहाँबाट पूर्वतिर सर्दै गएका जातजातिले पश्चिमोत्तर मष्टो संस्कृतिलाई पनि साथै लगेर अगाडि बढाएका छन् । मुख्यतः जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, डोटी, अछाम, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, रुकुम आदि ठाउँ मष्टोका विशेष प्रभाव क्षेत्रहरु मानिन्छन् ।

खसहरुले नन्दमाता विन्दवासिनी, षोडशा, जालपा, कालिका, गौरा, उग्रतारा, मालिका, बज्रयोगिनी जस्ता शक्तिको आराधना पनि गर्दछन् । यसरी खस सभ्यताले नेपाली पहाडीहरुलाई एकछत्र प्रभाव पारेको पाइन्छ । अर्को एक मत अनुसार मष्टदेवताको मूलथलो जालन्धर मानिन्छ र कुशाभट्टका झोलीमा बसी बझाङ आई अवतार लिएको कुरा विभिन्न श्रोतहरुबाट पुष्टी हुन्छ ।

अछाममा पनि मष्टा देवताको ठूलो महिमा रहेको छ । त्यहाँ विचारभट्ट नाम गरेका ब्राम्हण तिर्थाटन गर्न गएकोबेला बद्री नारायणको जालन्धरमा नुहाई जलदानीमा पानी भर्न लाग्दा त्यसमा एउटा शीला आएछ त्यही शीलालाई जिम्राडी भन्ने ठाउँमा भएको एक रुखमा शीला राखेको झोली झुण्डाई जजमानी गर्न गए । फर्केर आउँदा शीला फट्ट गायव भयो । त्यही चिन्ताले उनी अपहत्ते गरी मर्न तत्पर रहेका बेलामा झोली झुण्ड्याइएको रुखको हाँगो काँप्यो । त्यही रुखलाई बण्डाली (वन+डाली) देवता भन्न थालियो । भारी बोकेर आएको मानिस रुखनेर पुगेपछि काँप्न थाल्दा उनी वनडालीको धामी हुन गयो । त्यसैले अछामतिर विचार भट्टले नदीको माथितिर (उल्टोतिर) बग्दै गरेको शीला फट्ट फेला पारेका किंवदन्ती पनि अछामतिर सुन्न पाईन्छ । त्यसरी बन्डाली काँपेको ठाउँ मष्टवण्डाली नामबाट प्रख्यात छ । त्यसरी खस सभ्यताको बाहकको रुपमा मष्टा भन्ने देवता रहेको पाउँछौं । नेपालभर मष्टाको एकछत्र प्रभाव रहेको छँदैछ ।

प्रस्तुतिः मनोजकुमार ढुंगाना, बाबाज्ञानी गृह, मित्रपार्क, चावहिल ।