समय अविच्छिन्न प्रकृति हो, अविच्छिन्नता यसको पहिचान हो, समय काल हो, महाँकाल हो । आकाश एउटा निश्चित क्षेत्रफल हो, पिण्डले ओगटेको क्षेत्र हो, यो खण्डीकृत स्वरुप हो, स्वभाव हो र जीवन समय आकाश हो भन्ने कुरा बुझेका विश्वामित्रका सन्तान ढुंगाना वंशजमा जन्मेका हाम्रा पूर्वज नारद तथा लक्ष्मीदेवीद्वारा आजभन्दा करीव १७५ बर्ष अगाडी तात्कालिन अवस्थालाई दृष्टिगत गरि सुसंस्कृत र सभ्य मानव विकासक्रमलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सोचको साथ आफ्ना सन्तानहरुमा समाज–सेवा तथा धार्मिक भाव अविच्छिन्न रुपमा कालान्तरसम्म रही रहोस भन्ने मनसायले श्री लक्ष्मेश्वर नारदेश्वरको शिवलिङ्ग सहितको मन्दिर तथा पाटी–पौवा निर्माण गरि त्यसै भित्र पूराण तथा तात्कालिन अवस्थाको शिक्षा–दीक्षा समेतको प्रवन्ध हुन सकोस भन्ने धार्मिकभाव सहित आफ्ना वंशजलाई समूहगत रुपमा सञ्चालन सम्वद्र्धनको जिम्मेवारी प्रदान गरिएको रहेछ । उक्त धरोहर सञ्चालन गर्नकोलागि आवश्यक पर्ने साधन स्रोतको लागि पुग्ने गरि विभिन्न ठाउँमा जग्गा–जमिन समेतको व्यवस्था गरेको पाइयो । कूलमा मेलमिलाप र सहिष्णुता अनवरतरुपमा कायम रहि रहोस भनि आरुवारीमा कूलदेवताको निर्माण गरिएको रहेछ । त्यसै गरि पाटी-पौवा, मन्दिर, शिक्षा–दीक्षा तथा पूराण सञ्चालन र आयोजना गर्नकोलागि महांकालमा व्यवस्था गरिएको रहेछ । हाल काठमाण्डौं महानगरपालिका वडा नं ६ महांकालले प्रसिद्घ छ ।

समय वित्दै जांदा र काल परिस्थितिले गर्दा पुर्खाले सुम्पेको धरोहर समूहगत रुपमा हामीले सञ्चालन गर्नुभन्दा एक निजी संस्थाको स्थापना गर्नु उपर्युक्त हुन्छ भन्ने महसुश गरि "लक्ष्मेश्वर नारदेश्वर आदि महांकाल निजी संस्था" मिति २०५७ चैत्र १५ मा स्थापना गरि सञ्चालन गर्दै आएका छौं । त्यसै गरि आरुवारीस्थित कूलदेवता पूजास्थल, क्षेत्रफलको दृष्टिले सानो भएकाले मिति २०६७ मार्ग २४ गते सरस्वतीनगर, महांकालमा सबैको सल्लाह बमोजिम एक रोपनी एक आना क्षेत्रफलको जग्गामा कूलदेवता विधिपूर्वक अनुष्ठान गरि स्थानान्तरणको काम सम्पन्न गरियो । यस स्थानमा कूलदेवता पूजास्थल लगायत भान्साकोठा आदिमा टीनको छाना सहितको सेड निर्माणकार्य पूर्ण भएको छ । उक्त स्थलभन्दा बाहिर परेको अन्दाजि ६ पैसा जतिको जग्गामा श्री नारदेश्वरको मन्दिर निर्माण भईरहेको छ संस्थाको प्रथम तथा द्वितिय अध्यक्ष श्री दमननाथ ढुंगानाबाट जग्गा नामसारी गराउने काम भएको छ भने तृतिय अध्यक्ष श्री हरिप्रसाद उपाध्याय ढुंगानाबाट जग्गाको बैना-बट्टा गराउने काम पूरा भएको छ । चौंथो तथा वर्तमान अध्यक्ष श्री नारायणप्रसाद ढुंगानाले संस्थाको साधारण सदस्य लगायत कूलदेवता पूजामा उपस्थित हुनु भएका सम्पूर्ण ढुंगाना दाजु भाईहरुको सल्लाह बमोजिम माथि उल्लेखित कामहरु सम्पन्न भएका हुन् । पहिला स्थापित परम्परालाई तोडेर भएका सम्पूर्ण जग्गाको स्वामित्व संस्थामा निहित रहनु पर्छ भन्ने सबैको मान्यतालाई मनन गर्दै संस्थाको नाममा जग्गा दर्ता गर्ने क्रममा मालपोत कार्यालयसँग नीतिगत र कानूनी अड्चन उत्पन्न भएकोले त्यसलाई कानून सम्मत ढंगले किनारा लगाउन मालपोत कार्यालय, चावहिल विरुद्ध पुनरावेदन अदालतमा मुद्दा दायर गरिएकोमा सो को फैसला संस्थाको पक्षमा हुन गएको जानकारी गराउन चाहन्छु । संस्थाले गरेका कार्यहरुलाई सहयोग र समर्थन गर्नुहुने संस्थाका पूर्व अध्यक्षहरु सहित सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरु प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद !

नारायणप्रसाद ढुंगाना
अध्यक्ष,
लक्ष्मेश्वर नारदेश्वर आदि महांकाल निजी संस्था